सोम दियाली, सर्लाही ।। सर्लाहीको रामनगरमा जिल्लाकै कान्छो उमेदवारले अध्यक्षमा जितेका छन् । नेकपा माओवादी केन्द्रका २२ वर्षिय राजाबाबु यादव ४ हजार ८१ मतसहित गाउँपालिका अध्यक्षमा विजयी भएका निर्वाचन अधिकृत बासुदेव तिमल्सिनाले जानकारी दिए ।
माओवादी नेता शिवपुजन यादवका जेठा छोरा २२ वर्षिय राजाबाबु आफ्नै काका नेपाली कांग्रेसका अध्यक्ष पदका उमेदवार हरिनन्दन प्रसाद यादवलाई १ हजार ७४२ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै रामनगर गाउँपालिकको उपाध्यक्षमा माओवादी केन्द्रकै उम्मेदवार गितादेवी साहले ३ हजार ५२३ मत ल्याएर विजयी भएकी छन् । निकटतम् प्रतिद्वन्द्वी काँग्रेसकै कोशिला साहलाई ८८६ मतान्तरले पराजित गर्दै गितादेवी उपाध्यक्षमा विजयी भएकी हुन् । राजाबाबु माओवादी नेता शिवपुजन रायका जेठा छोरा हुन् ।
२०७४ सालमा क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिएपनि रातो पासपोर्ट काण्डका कारण निर्वाचन आयोगबाट शिव पुजन रायको उम्मेद्वारी भने खारेजीमा परेको थियो ।
यो समेत सर्लाहीमा तीन ओटा पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमा काँग्रेसले २ तथा माओवादीले एक पालिकामा जित दर्ता गरेको छ ।