भाइरल पोष्ट, काठमाण्डौ ।।
देशभर स्थानीय तह निर्वाचनको मतगणना जारी छ । देशभरको मतपरिणाम हेर्दा मूलतः ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिएको छ ।
अहिलेसम्म ३५ वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ । पछिल्लो अपडेट अनुसार एमालेले १४ र कांग्रेसले ११ पालिकामा जित हासिल गरेको छ । एमालेले एउटा पालिकाको नेतृत्व निर्विरोध पाएको हो ।
त्यस्तै, माओवादी केन्द्रले ८ पालिकामा जित हात पारेको छ, भने नेकपा एकीकृत समाजवादीले दुई पालिकाको नेतृत्व पाएको छ । समाजवादीले दुवै पालिकाको नेतृत्व निर्विरोध पाएको हो ।
यस्तै, देशभर नेपाली कांग्रेसले सबैभन्दा धेरै स्थानमा अग्रता कायम गरेको छ । कांग्रेसले २ सय ६५ स्थानमा अग्रता लिएको छ । भने नेकपा एमालले १ सय ९१ स्थानमा अग्रता बनाएको छ ।
नेकपा माओवादी केन्द्रले १ सय ०८ स्थानमा अग्रता लिँदा एकीकृत समाजवादीले १२ स्थानमा अग्रता कायम गरेको छ ।
यसैबीच, काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रतिद्वन्द्वीलाई पछि पार्दै दोब्बर अग्रता लिनुभएको छ ।
पछिल्लो मतपरिणाम अनुसार बालेनले ३ हजार ८ सय ३४ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ९ सय ९६ मत प्राप्त गर्नुभएको छ ।
गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले एक हजार ८ सय २ मतसहित पछ्याउनु भएको छ ।
सर्वत्र चासोका रुपमा हेरिएको काठमाडौं महानगरमा बालेनले हालसम्म सुरुवाती अग्रता कायम राख्नुभएको हो ।