भाइरल पोष्ट, परवानीपुर ।। सर्लाहीको उत्तरी भेगमा पर्ने देउरालीमा खानेपानीको हाहाकार भएको छ । धारामा पानी आउन छोडेपछि त्यहाँका स्थानीयले खानेपानीको लागि संघर्ष गर्नु परेको स्थानीय खड्ग बहादुर कार्कीले बताए ।
‘धारामा पानी आउँदैन, पानी लिन वरपरका छिमेकी गाउँमा पुग्नु पर्ने बाध्यता गाउँवासीलाई छ,’ स्थानीय कार्कीले भने । जुनसुकै पार्टीले जिते पनि देउरालीवासीको खानेपानीको समस्या समाधान गर्न नसकेको उनले बताए ।
‘दुई तिन वर्ष अघि एउटा संस्थाले यहाँ खानेपानी विस्तारको काम गरेको थियो । तर मुहानमै पानी नभएपछि अहिले हप्तामा दुई तीन दिन मात्रै धारामा पानी आउँछ । बाँकी सबै दिन दुई तिन घण्टा हिडेर छिमेकी गाउँहरुमा पानी लिन जानुपर्ने बाध्यता छ,’अर्का स्थानीय विनोद भण्डारीले भने । ‘हामीले जनप्रतिनिधिहरुलाई खानेपानीको समस्यावारे पटक पटक जानकारी गराउँदा पनि सुनुवाई नै भएन,’ उनले भने ।
लालबन्दी नगरपालिकाको वडा नम्बर १५ मा पर्ने देउरालीमा २ सय घर धुरी रहेका छन् । फुलजोर खोलाको किनारमा रहेको तल्लो र माथ्लो देउरालीमा वर्षौदेखि खानेपानीको समस्या छ । केही गैर सरकारी संस्थाहरुले त्यहाँ खानेपानीको सहज उपलब्ध गराउने प्रयास गरेको भएपनि त्यो सफल हुन सकेको छैन । अझै पनि एक गाग्रो पानी लिन घण्टौं हिडेर छिमेकी गाउँसम्म पुग्नु पर्ने बाध्यताले देउरालीवासी आजित भइ सकेका छन् ।
उनीहरुले देशमा परिवर्तन आएपनि देउरालीवासीको अवस्थामा परिवर्तन नआएको गुनासो गरेका छन् । ‘हामीले धेरै पटक धेरै जनालाई भोट दिएर जिताऔं तर हाम्रो समस्या कसैले समाधान गरेनन् । २० वर्ष पछि स्थानीय सरकार आयो तर हाम्रो सुखको दिन आएन,’ स्थानीय युवा कृष्ण प्रसाद न्यौपानेले भने ।
अर्का स्थानीय रामकुमार बुढाथोकीले गाउँगाउँमा सिंहदरबार आएपनि जनताको समस्या ज्यूँका त्यूँ हुनु दुःखद भएको बताउँछन् । उनीभन्छन्, ‘म कामको सिलशिलामा बाहिर बस्छु, गएको स्थानीय तहमा जितेका जनप्रतिनिधिहरुले गाउँको विकासमा कायापलट गरे होलान् भन्ने लागेको थियो तर यहाँ आएर हेर्दा त्यस्तो केही गरेको देखिएन ।’
‘गाउँमा खोपानीको समस्या त्यस्तै छ, किसानका समस्या उस्तै छन् । के चै गरे त गएको निर्वाचनमा जितेका जनप्रतिनिधिहरुले ?’ सामाजिक अभियन्ता समेत रहेका बुढाथोकीले अबको चुनावमा जनताका समस्या समाधान गर्न सक्ने व्यक्तिलाई जिताउनु पर्ने बताए ।