भाइरल पोष्ट, लालबन्दी ।। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय नेताहरु सर्लाही आउने भएका छन् । राप्रपाले यही बैशाख २० गते लालबन्दीमा आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहितका केन्द्रीय नेताहरु सर्लाही आउन लागेको युवा सामाजिक अभियन्ता रामकुमार बुढाथोकीले जानकारी दिए ।
‘अहिले लालबन्दीसहित देशैभर राप्रपाप्रतिको आकर्षण बढेको छ,’ अभियन्ता बुढाथोकीले भने,‘यहाँका जनताको आग्रह अनुसार नै अध्यक्ष लिङ्देनसहितका केन्द्रीय नेताहरु सर्लाही आउन लाग्नु भएको हो ।’
उनका अनुसार पार्टीले लालबन्दीमा आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न केन्द्रीय अध्यक्ष लिङ्देनसहित महामन्त्री ज्ञानेन्द्र शाही, वरिष्ठ नेता पशुपति शमसेर राणा, नेताहरु बुद्धिमान तामाङ्ग, रेखा थापा, किशोर बहादुर कार्की आउनेछन् ।
केन्द्रीय नेताहरु सर्लाहीको लालबन्दी आउने भएपछि त्यसको तयारी तिब्र पारिएको राप्रपा लालबन्दीका अध्यक्ष गंगा चौलागाईले बताए । राप्रपाले लालबन्दीको मेयरमा युवा नेता उमेश खड्का र उपमेयरमा संगिता कुमारी खतिवडा(दाहाल) लाई उमेदवार बनाएको छ ।