भाइरल पोष्ट, लालबन्दी ।। एकिकृत समाजवादीले लालबन्दीको मेयरमा माओवादी केन्द्रलाई समर्थन गरेको छ । आफूले उपमेयर पद लिएर उसले मेयर पदमा भने माओवादी केन्द्रका उमेदवार प्रह्लाद बुढाथोकीलाई समर्थन गरेको हो ।
समाजवादीले मेयरमा माओवादी केन्द्रलाई सघाउने र माओवादीले उपमेयरमा समाजवादीलाई सघाउने सहमति भएपछि नेकपा (एकीकृत समाजवादी) को तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराएकी रमा पौडेल र माओवादी केन्द्रबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएकी सुमित्रा श्रेष्ठले शुक्रबार एकैसाथ उम्मेदवारी फिर्ता लिएका छन् ।
लालबन्दीमा यि दुई पार्टीबीच मनोनयन दर्ता अघि नै चुनावी तालमेलबारे बारम्बार छलफल भएपनि कुनै सहमती हुन सकेको थिएन । अन्तिम समयमा आएर दुवै पार्टीका नेताहरुले मेयर, उपमेयरमा चुनावी तालमेलको निर्णय गरेका हुन् ।
माओवादी र समाजवादीबीचको तालमेलपछि लालबन्दीमा चुनावी प्रतिस्पर्धा थप रोमाञ्चक हुने देखिएको छ । लालबन्दीमा नेपाली कांग्रेसले मेयरमा बासुदेव अधिकारी र उपमेयरमा कल्पना पाख्रिन तथा नेकपा एमालेले मेयरमा गोविन्द महत र उपमेयरमा सनसरिमाया थिङलाई उठाएको छ ।