भाइरल पोष्ट, मलंगवा ।।
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सर्लाहीमा बागमती र बलरा नगरपालिकाका मेयरसहित १७ जना विरुद्ध उजुरी परेको छ ।
बागमती नगरपालिकाका निवर्तमान मेयर थापा र बलरा नगरपालिकाका निवर्तमान मेयर अभय कुमार सिंहसहित अन्य पालिकामा गरी १७ जना विरुद्ध उजुरि परेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
बागमतीका निवर्तमान मेयर थापा विरुद्ध प्रहरी कार्बाहीमा मारिएका कुमार पौडेलका बुबा खिलकराज पौडेलले उजुरी दिएका हुन् । उजुरीमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन र जिल्ला प्रशासन कार्यालयको पत्र प्रमाणको रुपमा प्रस्तुत गरिएको छ । कुमार पौडेल कार्बाही घटनामा मृतक पौडेलका बुबा खिलकराजले दिएको किटानी जाहेरीमा मेयर थापाको नाम समेत भएको र सर्बोच्च अदालतले समेत छानविन गर्न आदेश दिएको छ । प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेपछि पीडितले हुलाक मार्फत पठाउँदा समेत दर्ता नभएपछि सर्बोच्च अदालतमा रिट हालेका थिए । बागमतीका निर्वाचन अधिकृत विकाउ कुमार यादवले उजुरी उपर छानविन भईरहेकोले विहिबार साँझसम्म निर्णय आउने जानकारी दिए । यसअघि स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट मेयरमा जितेका थापाले यो पटक पनि माओवादीबाटै मेयरमा उम्मेद्वारी दिएका छन् ।
त्यस्तै बलरा नगरपालिकामा लाेसिाबाट मेयरको उमेदवारी दिएका निवर्तमान मेयर अभय कुमार सिंह विरुद्ध जनमत पार्टीबाट मेयर पदका उमेदवार संजय कुमार सिंहले उजुरी दिएका छन् ।
उनले मेयर सिंह विरुद्ध बेरुजु तिर्नुपर्ने र पेश्की फछ्र्यौट गर्नुपर्ने भन्दै उजुरी दिएका हुन् । महालेखा परीक्षकको कार्यालयको २०७८ को वार्षिक प्रतिवेदनमा बलरा नगरपालिकाको लेखापरीक्षण प्रतिवेदन अनुसार ११ करोड ८० लाख १८ हजार रुपैंया बेरुजु देखिएको र ५ करोड ३६ लाख ८४ हजार रुपैंया भने असुल नै गर्नुपर्ने उल्लेख छ । बलराका निर्वाचन अधिकृत रंजित कुमार यादवले मेयर पदका उमेदवार अभय कुमार सिंह र अर्का एकजना वडाध्यक्ष विरुद्ध पनि उजुरी परेको जानकारी दिए ।
विहिबार साँझसम्म उजुरी उपर छानविन गरी निर्णय गरिने उनले बताए । अभय कुमार सिंह यसअघिको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टीको तर्फबाट बलरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । त्यस्तै जिल्लाका अन्य विभिन्न पालिकामा पनि उमेदवारहरु विरुद्ध उजुरी परेका छन् । जिल्लामा सबैभन्दा धेरै जिल्लाको बसबरिया गाउँपालिकामा ७ जनाविरुद्ध उजुरी परेको छ ।
बागमतीमा मेयरसहित ४ जना विरुद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाकाे बलरामा दुई, लालबन्दी, कविलासी, रामनगर र ब्रम्हपुरीमा एक एक वटा उजुरी परेकाे छ। त्यस्तै चन्द्रनगर गाउँपालिकामा पनि ३ जना विरुद्ध उजुरी आएकोको भएपनि त्याे रितपूर्वक नआएकाले उजुरी दर्ता भएको छैन । निर्वाचन अायाेगका अनुसार नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको उमेदवारमाथि उजुरी दिन सकिन्छ ।
यस्तै भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने व्यक्ति पनि उमेदवार हुन पाउँदैनन् । जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाइ त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्तिले उम्मेदवारी दिएको भए उसको उमेदवारी पनि रद्द हुन सक्छ ।