सोम दियाली
सर्लाही,१३ वैशाख ।। वैशाख ३० गते नेपालमा हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल र भारतका उच्च पदाधिकारीहरुको बैठक सम्पन्न भएको छ ।
मधेश प्रदेश अन्तर्गतको महत्तरी स्थित बर्दिबासमा सर्लाही, महोत्तरी र रौतहट तथा भारतको सितामढी जिल्लाका उच्च पदाधिकारी र सम्बद्ध अधिकारीबीच संयुक्त सिमा समन्वय बैठक सम्पन्न भएको हो ।
बैठकले वैशाख ३० गते हुने स्थानीय तहको मतदानको ७२ घण्टा अघि सिमा नाका शिल गर्न नेपाल र भारतका उच्च पदाधिकारीहरु सहमत भएका छन् ।
बैठकमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको नेतृत्वमा मोहतरी र रौतहटका प्रमुख जिल्ला अधिकारी तथा विशिष्ट व्यक्तिहरु र भारतको तर्फबाट सितामढी जिल्लाका मुख्य अधिकारी, पुलिस अधिकृत, एसएसबीका अधिकृतहरुको उपस्थिति रहेको थियो।
बैठकमा खुल्ला सिमा नाकाका कारण हुन सक्ने चोरी तस्करी नियन्त्रण, लागू अौषध तथा मदिराको ओसार प्रसार नियन्त्रण, अबैध मुद्राको कारोबार नियन्त्रण तथा नेपालमा हुन गईरहेको स्थानीय तहको निर्वाचनमा सुरक्षा संवेदनशीलताको विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यलय सर्लाहीका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिए ।
बैठकमा भारतको बिहारमा भएको स्थानीय निर्वाचनमा नेपालका अधिकारीहरुबाट भएको सहयोगको लागि धन्यवाद दिदै भारतीय अधिकारीहरुले वैशाख ३० गते नेपालमा हुने स्थानिय तहको निर्वाचनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।