भाइरल पोष्ट, काठमाडौं ।। स्थानीय तह निर्वाचनका लागि देशभरबाट १ लाख ४ हजार १२३ जनाले मनोनय दर्ता गराएका छन् । ६ महानगरपालिका, ११ उपमहानगरपालिकासहित ७५३ वटा स्थानीय तहका कुल ३५ हजार २२१ पदका लागि उनीहरूले आइतबार र सोमबार मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन आयोगले सोमबार राति ११ बजे सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी मधेस प्रदेशमा २४ हजार १४३ जनाले मनोनयन दर्ता गराए । यसरी नै प्रदेश १ मा १८ हजार ४९९ जना, लुम्बिनी प्रदेशमा १७ हजार ७२० जना, बाग्मती प्रदेशमा १७ हजार २२५ जना, सुदूरपश्चिम प्रदेशमा ९ हजार २० जना, कर्णाली प्रदेशमा ८ हजार ९८४ जना र गण्डकी प्रदेशमा सर्वाधिक कम ८ हजार ५३२ जनाले मनोनयन दर्ता गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन् ।
वडा सदस्य पदमा सर्वाधिक ३६ हजार ४८८ जनाको मनोनयन दर्ता छ । वडा अध्यक्षमा २५ हजार ६४ जना र महिला सदस्यमा १७ हजार ४६७ जना र दलित महिला सदस्य १५ हजार ६९७ जनाले मनोनयन दर्ता गरेका छन् । प्रमुखमा २ हजार ७४४ जना, उपप्रमुखमा १ हजार ६९९ जना, अध्यक्षमा २ हजार ९४१ जना र उपाध्यक्षमा २ हजार २३ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ । सर्वाधिक उम्मेदवारी प्रमुखमा मधेस प्रदेशमा परेको छ ।
त्यहाँ १ हजार ५ जनाले प्रमुखमा उम्मेदवारी दिएका छन् । यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशमा प्रमुखमा उम्मेदवारी परेको छ । त्यहाँ प्रमुखमा १५९ जनाले मात्र उम्मेदवारी दिएका छन् । यसरी नै उपप्रमुखमा पनि सबैभन्दा बढी मधेस प्रदेशमै उम्मेदवारी परेको छ । त्यहाँ ४९५ जनाले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । गण्डकी प्रदेशमा सबैभन्दा कम ११५ जनाले उपप्रमुखमा उम्मेदवारी दिए ।
अध्यक्षमा पनि सबैभन्दा बढी मधेस प्रदेशमै उम्मेदवारी परेको छ । ७५४ जनाले मधेस प्रदेशमा अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । सबैभन्दा कम अध्यक्षमा सुदूरपश्चिम प्रदेशमा उम्मेदवारी परेको छ । त्यहाँ २२४ जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा पनि मधेस प्रदेशमै बढी उम्मेदवारी परेको छ । यहाँ ३८३ जनाले उपाध्यक्षका लागि उम्मेदवारी दिँदा सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा १७३ जनाले उम्मेदवारी दिएका छन् ।