काठमाण्डौं
गायक सन्तोष दाहालले छिट्टै नै देशको नयाँ गीत सार्वजनिक गर्ने बताउनुभएको छ । मेचीको कसम कालीको कसम…मेरो देशलाई धोका दिने छैन म भन्दै ऐतिहासिक स्वदेश गीत गाएर ख्याति कमाउनु भएका गायक दाहालले अब नेपाल एकिकरणको समयदेखि वर्तमानसम्मका ऐतिहासिक विषयहरुलाई समेटेर नयाँ गीत ल्याउने तयारी गर्नु भएको हो ।
‘देशलाई मेरो आवश्यकता भइसक्यो, सरकारले पाठ्यक्रमबाट इतिहास विषय नै हटाएकोले अहिलेको पुस्ताले देशको इतिहास बुझ्न पाएनन् । म देशको इतिहासलाई गीतमा समेटेर छिट्टै नै देशप्रेमी दर्शक स्रोतमाझ आउँदैछु ।’ गीतकार, संगीतकार तथा बाँसुरी वादक समेत रहनु भएका गायक दाहालले भन्नुभयो, ‘मैले अब ल्याउने गीतले देशप्रेम सम्बन्धी चेतना दिनेछ । नेपाल एकिकरणका गाथाहरुलाई मैले गीत मार्फत पस्कनेछु ।’
विगत लामो समयदेखि गायन क्षेत्रमा सक्रिय गायक दाहाल फरक खाले गीतसंगीतमा पहिचान बनाउन चाहानु हुन्छ । मिडिया बोलको नेपालकै पहिलो मिडिया गीत गाई सक्नु भएका गायक दाहालले झण्डै दर्जन गीतमा स्वर तथा संगीत दिई सक्नु भएको छ ।
उहाँले किन हुन्छ्यौ विरानो तिमी, मिडिया रे मिडियामा, ख्याल ख्यालैमा, सहरले बिगा¥यो लगायतका जीवन्त गीतमा स्वर दिनु भएको छ । अधिकांश गीतमा उहाँको आफ्नै शब्द तथा संगीत सुन्न पाईन्छ भने केही गीतहरुमा शिला बहादुर मोक्तान, भानुभक्त ढकाल लगायतका बरिष्ठ संगीतकारहरुको मिठो संगीत सुन्न सकिन्छ । उहाँका सबै गीत म्यूजिक नेपालको आधिकारीक युटुव च्यानलमा हेर्न र सुन्न सकिन्छ ।
कलाकारहरुको हकहितका लागि स्थापित संस्था प्रस्तोता समाज नेपालको क्रियाशील सदस्य समेत रहनुभएका गायक दाहालले १४ वर्षको कलिलो उमेरमै पहिलो पटक गीत रेकर्ड गराउनु भएको थियो । स्वर्गिय स्वर सम्राट नारायण गोपाल, मुरली धर, रामकृष्ण ढकाल लगायतका अग्रज गायकहरुलाई प्रेरणाका स्रोत मान्नु हुने गायक दाहालले उहाँहरुकै गीत सुनेर आफू पनि गायकै बन्छु भन्ने रहर पलाएको बताउनुभयो ।
गायनको अलवा बाँसुरी बादनमा अब्बल रहनुभएका गायक दाहाल एक सेट बाँसुरी बोकेरै गायक बन्छु भनेर राजधानी काठमाण्डौं छिरेको बताउनुभयो । सर्लाहीको बागमती नगरपालिका घर भएका गायक दाहालले गाउँमा हुँदा बागमती नदीको बगर र वरपरका भीर पाखाहरुमा धेरै समय बाँसुरी बजाएर बिताएको बताउनुभयो ।
त्यतिमात्रै हैन उहाँले कलेज तथा जिल्लामा हुने विभिन्न स्टेज कार्यक्रमहरुमा पनि साँच्चै मज्जाले बाँसुरी बजाएको अनुभव आफूसँग रहेको सुनाउनु भयो । ‘गीतसंगीतले आनन्द मात्रै दिँदैन ज्ञान पनि दिन्छ’ गायक दाहाल भन्नुहुन्छ,‘मैले गाउने गीतमा केही न केही सन्देश दिने कोसिस गरेको हुन्छु । मेचीको कसम बोलको स्वदेश गीतमा पनि अरुले लेख्न छुटाएको शब्द मैले लेखेको छु । जस्तो कि घारे र मौरी, ढुंगा, सिस्नुले पनि बचाको देश भन्ने शब्द कोही पनि राइटरले लेख्नु भएको छ जस्तो लाग्दैन ।’
नयाँ र फरक शब्दहरु कसरी लेख्नु हुन्छ, कसरी फुर्छ ? भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ,‘गीतमा प्रेम, मिलन, विछोड अभिव्यक्त हुन्छ त्यो स्वभाविक हो । मेरा गीतमा पनि त्यो छ नै तर नदी, माटो, भूगोल, देश र जनतालाई केन्द्रमा राखेर सिर्जना गरिने गीत नै देशको गीत हुन्छ । देशको गीत गाउनु भनेको देश जस्तै बाँचि रहनु हो भन्ने लाग्दछ त्यसैले म प्रायः देशको गीत गाउने प्रयत्नमा रहेको हुन्छु ।’
गायक दाहाल इतिहास, देश, भूगोल, राजनीति र अन्य समसामयिक विषयमा विश्लेषण गर्ने क्षमता राख्नु हुन्छ । केही समय अघि पनि उहाँले नेपाली यूटुबरहरुलाई करको दायरामा ल्याउने सरकारको निर्णय सच्चिनु पर्ने भन्दै कडा अन्तरवार्ता दिनुभएको थियो ।