भाइरल पोष्ट, लालबन्दी।। लालबन्दी नगरपालिकाको मेयर पदमा नेकपा एमालेको तर्फबाट दुई जनाले उमेदवारी दर्ता गराएका छन् ।
यसअघिका मेयर मान बहादुर खड्का र नेता गोविन्द महत दुबै जनाले मेयर पदमै उमेदवारी दर्ता गराएका हुन् । खड्काले आज विहान ११ बजेर ४० मिनेटमा प्रस्तावक र समर्थकसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगी मेयर पदमा उमेदवारी दर्ता गराएका हुन् भने नेता महतले दलबलसहित दिउँसो ४ बजेर ४५ मिनेटमा उमेदवारी दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालय लालबन्दीका सहायक निर्वाचन अधिकृत नेत्र बहादुर पाख्रिनले दुबैलाई मनोनयन पत्र प्रदान गरेका छन् ।
खड्का र महत दुबैले मेयर पदमा उमेदवारी दिएपछि को आधिकारीक भन्ने विषयमा कार्यकर्तामा अन्यौल देखिएको छ । निर्वाचन अधिकृतको कार्यालयले भने पर्सी वैशाख १४ गते आधिकारीकता जाँच गर्ने जनाएको छ ।
यता सुरुमै उमेदवारी दर्ता गराएका खड्काले आफू नै आधिकारीक उमेदवार भएको दाबी गरेका छन् भने महतले पनि आफू नै आधिकारीक मेयर पदको उमेदवार भएको दाबी गरिरहेका छन् ।
जिल्लामा मेयर उपमेयर पदको टिकट वितरणको जिम्मा पाएका नेकपा एमाले मधेश प्रदेश कमिटिका उपाध्यक्ष रेवती पन्तले पार्टीले मान बहादुर खड्कालाई नै आधिकारीक टिकट दिएको बताए ।