भाइरल पोष्ट, लालबन्दी ।। नेकपा एमालेको तर्फबाट पुनः मेयर पदमा चुनाव लड्न मेयर पदबाट राजीनामा दिएका लालबन्दी नगरपालिकाका मेयर मान बहादुुर खड्कालाई मनोनयन दर्ताको दर्ताको अन्तिम समयमा आएर ठुलो झड्का लागेको छ । मेयरको टिकट आफ्नो नाममा फैसला भएर आएपछि उमेदवारी दर्ताको तयारीमा लागेका बेला अर्का मेयरका आकांक्षी नेता गोविन्द महतले टिकट लिएर आएपछि खड्का हिस्स भएका हुन् ।
टिकट खोसिएपछि उनलाई झड्का लागेको छ । हिजो मात्रै मेयरमा खड्काको नाम फैसला भएर आएको थियो तर एकाएक नेता गोविन्द महतले आफूले मेयरको टिकट लिएर आएकोले मेयरमा आफुले नोमिनेसन गराउने बताए ।
‘मेयर पदमा पार्टीले मलाई टिकट दिएको छ । मैले चिठ्ठी नै लिएर आएको छु, अब आज उमेदवारी दर्ता हुन्छ ।’ नेता महतले भाइरल पोष्टलाई टेलिफोन मार्फत् भने । मेयरमा उनको नाम टुंगो लागेसँगै सामाजिक सञ्जालमा उनलाई बधाई दिनेको लर्को लागेको छ । केहीले भने टिकटको हारालुछले कार्यकर्तामा अन्यौल भएको प्रतिक्रियाहरु दिएका छन् ।
यता, गोविन्द महतले मेयरको टिकट ल्याएको कुरामा सत्यता नभएको नेकपा एमाले मधेश प्रदेश कमिटी उपाध्यक्ष रेवती पन्तले बताए । उनले भने,‘मेयरको फैसला प्रदेश कमिटिले नै गर्ने हो, हामीले लालबन्दी नगरपालिकाको मेयरमा मान बहादुर खड्काकै नाम फैसला गरेका हौं, मेयरको आधिकारीक उमेदवार खड्का नै हुन् । बाँकी कुरा मलाई पनि थाहा छैन । तर आज मेयरमा मान बहादुर खड्काकै उमेदवारी दर्ता हुन्छ ।’