भाइरल पोष्ट, लालबन्दी
आसन्न स्थानीय तहको निर्वाचनमा लालबन्दी नगरपालिकामा मेयरसहित अधिकांश वडामा काँग्रेसले बाजी मार्ने सभापति प्रशान्त आचार्यले दाबी गरेका छन् ।
लालबन्दीस्थित ढुकढुकी एफएमको ढुकढुकी विशेष सम्वाद कार्यक्रममा पत्रकार राकेश गुप्तासँगको अन्तरवार्ताका क्रममा लालबन्दी नगरपालिकाको मेयरका आकांक्षी समेत रहेका नगर सभापति आचार्यले काँग्रेसमा सबैलाई मिलाएर लैजान सक्ने तागत भएकोले काँग्रेसले नै जित्ने दाबी गरेका हुन् ।
‘काँग्रेसमा सबैलाई मिलाएर लैजान सक्ने क्षमता छ , युवा, वृद्धवृद्धा, किसान, मजदुर, व्यापारी, शिक्षक, विद्यार्थी सबैलाई काँग्रेसले मात्रै सम्मान गर्न सक्छ । उहाँहरुले काँग्रेसलाई नै विश्वास गर्नुभएकोले अबको लालबन्दी नगरपालिकामा मेयरसहित अधिकांश वडामा काँग्रेसले जित्छ ।’
सभापति आचार्यले काँग्रेसले केन्द्रमा माओवादी लगायतका दलसँग चुनावी तालमेल गरेको भएपनि लालबन्दीमा स्थानीय आवश्यकताअनुसार माधव नेपाल नेतृत्वको एकिकृत समाजवादीसँग तालमेलको प्रयास भइरहेको बताए । उनले समाजवादीसँग तालमेल भएपनि मेयर पद भने काँग्रेसले नै पाउने त्यसमा पनि नगर सभापतिको हैसियतले आफूले नै मेयरको टिकट पाउने र जित्ने दाबी गरे ।
उनले समृद्ध लालबन्दी बनाउने भिजन आफूसँग भएकोले आफूले मेयरमा दाबी गरेको बताए । ६ वर्षभन्दा बढी समय सभापति भएर पार्टीको काम गर्दैगर्दा नगरका वस्तीवस्तीका समस्यासँग आफू जानकार भएकोले लालबन्दीवासीले मेयरमा जिताएको खण्डमा नगरको विकासमा कायापलट ल्याउने सभापति आचार्यले दाबी गरे । आफूले टिकट पाए पार्टीको मात्रै नभई विकास प्रेमी सबै लालबन्दीवासीले आफूलाई मत दिने उनले विश्वास व्यक्त गरे ।