भाइरल पोष्ट, मलंगवा ।। आसन्न स्थानीय तहको चुनाव सम्पन्न गर्न देशका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको चुनाव सम्पन्न गर्न अधिराज्यभरका ७५३ ओटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
यता सर्लाहीमा पनि जिल्ला सदरमुकामसहित २० ओटै पालिकाहरुमा कार्यालय स्थापना भएको छ । सदरमुकाम मलंगवामा मलंगवा नगरपालिका समेत हेर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको जिम्मा जिल्ला अदालतका मुख्य न्यायधिश ध्रुब कुमार पियाले दिइएको छ ।
त्यस्तै जिल्लाका अन्य १९ स्थानीय तहमा पनि बिहीबार विधिवत रुपमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन, बरहथवा, हरिपुरसहित २० ओटै पालिकाहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
कार्यालय स्थापनासँगै आसन्न निर्वाचनको तयारी अझ तीव्र रुपमा अघि बढ्ने अनुमान गरिएको छ । एकैसाथ स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयहरुले उमेदवारी दर्ता देखि निर्वाचन सम्मको अवधिको कार्यतालिका समेत सार्वजनिक गरेका छन् ।