भाइरल पोष्ट, लालबन्दी
वैशाख ८ गते ।। वडा अध्यक्षको टिकट पाएपछि सर्लाहीको लालबन्दीमा एक विद्यालयका प्रधानाध्यापकले पदबाट राजीनामा दिएका छन् ।
लालबन्दी नगरपालिका वडा नम्बर ८ स्थित चन्द्रपुरमा रहेको आधारभूत विद्यालयका प्रधानाध्यापक शुक्र लामाले वडा अध्यक्षमा टिकट पाएपछि प्रधानाध्यापकको पदबाट राजीनामा दिएका हुन् ।
उनले नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षको टिकट पाएका छन् । वडा नम्बर ८ को वडा अध्यक्षमा पार्टीले उनको नाम सिफारिस गरेको छ । उनको टिकट पक्कापक्की नै भएको छ । टिकट पक्कापक्की भएपछि उनले बिहीबार प्रधानाध्यापकको जिम्मेवारीबाट विदा लिएका छन् । उनलाई विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा विद्यालयका शिक्षक विद्यार्थीहरुले फुलमाला लगाएर विदा गरेकाक छन् । वडा अध्यक्षमा जीतको लागि उनलाई शिक्षक तथा विद्यार्थीहरुले शुभकामना समेत दिएका छन् ।
२०६४ सालदेखि शिक्षण पेशामा आवद्ध लामा २०७४ सालमा सो विद्यालयको प्रधानाध्यापक भएका थिए । लामो समयदेखि अध्यापन पेशामा आवद्ध लामा माओवादी केन्द्रको सक्रिय सदस्य समेत थिए । पार्टीले टिकट दिएको र वडा अध्यक्ष बनेर वडाको मुहार फेर्ने आफ्नो पनि चाहाना भएकोले जागीर नै छोडर पार्टी रोजेको प्रधानाध्यापक लामाले बताए ।
वडा अध्यक्षमा जितेर वडावासीको सेवा गर्न चाहेकोले आफूलाई भोट दिन उनले सबैसँग आग्रह समेत गरेका छन् ।