भाइरल पोष्ट, हरिवन ।।
फागुन २६ गते ।। सर्लाहीको हरिवनमा ‘किशोर अवस्थामा यौन तथा प्रजनन् स्वाथ्य शिक्षाको आवश्यकता’ विषयमा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
हरिवन नगरपालिकाको सहयोगमा प्रजनन् स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको मेरि स्टोप इन्टरनेशनल र सुनौलो नेपाल परिवारले प्रतियोगिताको आयोजना गरेको हो ।
हरिवन नगरपालिका क्षेत्र भित्र रहेका ६ वटा माविहरुले प्रतियोगितामा सहभागीता जनाएका थिए । सहभागी मध्येबाट महादेव जनता नमूना माविमा अध्ययनरत छात्र उत्सव आचार्य प्रथम , सनराइज आवासीय माविमा अध्ययनरत छात्र कुशल सापकोटा द्वितीय, महादेव जनता माविमा अध्ययनरत छात्रा सुजाता खनाल तृतीय तथा मोडेल युरिका एकेडेमीमा अध्यनरत छात्रा स्वस्तिका पौडेलले सान्त्वना स्थान प्राप्त गरेका छन् ।प्रथम,द्वितीय,तृतीय र सान्त्वना स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई ट्रफी र डायरी वितरण गरिएको थियो ।
पुरस्कार तथा प्रमाण–पत्र वितरण गर्दै हरिवन नगरपालिकाको नगरप्रमुख रमेश बुढाथोकीले यौन तथा प्रजनन शिक्षाले किशोरकिशोरीहरुलाई सहिमार्गमा डोर्याउने र सम्भावित स्वास्थ्य समस्या र यौन रोगहरुबाट बचाउने कुरा उल्लेख गरेका छन।
कार्यक्रममा नगर-उपप्रमुख हरिमाया घलानले बाबुनानीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य र सरसफाई, किशोरावस्था, परिवर्तन र विकासक्रम तथा अन्य स्वास्थ्य सम्बन्धी समस्याहरुको सवालहरुमा यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा कार्यरत विभिन्न सामाजिक संस्थाहरु र विशेषज्ञहरुलाई स्कुलमा आमन्त्रण गरेर अन्तरक्रिया गर्नाले फाइदा हुने विचार राखेका थिए।
कार्यक्रमका अध्यक्ष तथा सुनौलो परिवारका अपरेसनल अफिसर मोनिका पौडेलले सम्पुर्ण किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विषयमा सूचना तथा जानकारी पाउने अधिकार रहेको र यसैले, आफुले पढ्ने ठाउँ विद्यालय आदि, आफुले सेवा लिन जाने स्वास्थ्य संस्थाबाट यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही र स्पष्ट जानकारी प्राप्त गर्नुपर्ने बिचार राखेका छन।
हरिवन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले यौन र प्रजनन स्वास्थ्य विश्वव्यापी अधिकारको एक महत्त्वपुर्ण तत्व रहेको र यसलाई मानव अधिकार विश्वव्यापी घोषणा पत्र र अन्य मानव अधिकारका सम्मेलन, घोषणा तथा सहमतिहरूमा प्रतिष्ठापित गरिएको उल्लेख गरेका छन । हरेक व्यक्तिले आफ्नो स्वास्थ्य सुधार सँग सम्बन्धित कार्यक्रमहरूमा सहभागि हुन पाउने देखि लिएर बच्चा जन्माउने वा नजन्माउने / कहिले जन्माउने र शिशुको जन्म भइसकेपछि शिशुको उचित पालनपोषण कसरी गर्ने, त्यस सम्बन्धि आवश्यक जानकारी र उचित शिक्षा पाउने बिचार व्यक्त गरेका थिए।
महादेव जनता माविका सहायक प्रधानाध्यापक गिरिराज रानाद्वारा संचालित उक्त कार्यक्रममा विद्यालयका शिक्षक गिता घिमिरेले स्वागत मन्तव्य राखेका थिए। हरिवन स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरी, शिक्षा शाखा प्रमुख रुस स्टालिन चौलागाईं , स्वास्थ्य सेवा मलङ्गवाका प्रतिनिधि पशुपति कुमार यादवको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीबाट विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिनुका साथै विद्यार्थी तथा अतिथिहरुबाट मेरि स्टोप सेन्टरको स्टल पनि अवलोकन गरिएको थियो।